बागमती प्रदेशमा यसवर्ष धानको उत्पादन घट्यो
काठमाडौं । बागमती प्रदेशमा यसवर्ष धानको उत्पादन घटेको छ । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोले क्षति पु¥याउँदा बागमतीमा धानको उत्पादन एक दशमलव ३७ प्रतिशतले ह्रास आएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।
यसवर्ष कुल एक लाख पाँच हजार चार सय १५ हेक्टरमा धानबाली लगाइएकोमा चार लाख आठ हजार तीन सय १६ मेट्रिक टन धान उत्पादन भएको निर्देशानलयका कृषि अर्थविज्ञ नवीन कुँवरले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा एक लाख नौ हजार एक सय ५१ हेक्टरमा धानबाली लगाइएकोमा चार लाख १३ हजार नौ सय ८८ मेट्रिक टन उत्पादन भएको थियो ।
गएको वर्षको तुलनामा यसवर्ष चितवन, काठमाण्डौ, ललितपुर, भक्तपुर र नुवाकोटमा धानको उत्पादन बढे पनि बागमती प्रदेशका अरु जिल्लामा घटेको तथ्याङ्क छ । बाढीपहिरोबाट बढी प्रभावित मकवानपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक लगायत जिल्लामा यसवर्ष धान कम उत्पादन भएको छ । बागमती प्रदेशको सबैभन्दा धेरै धानखेती हुने चितवनमा यसवर्ष २३ हजार सात सय हेक्टरमा प्रतिहेक्टर चार दशमलव १५ मेट्रिक टनका दरले ९८ हजार तीन सय ५५ मेट्रिक टन धान उत्पादन भएको छ ।
नुवाकोटमा ११ हजार छ सय १५ हेक्टरमा प्रतिहेक्टर चार दशमलव १७ प्रतिशतका दरले ४८ हजार तीन सय ९० मेट्रिक टन, धादिङमा ११ हजार तीन सय १२ हेक्टरमा प्रतिहेक्टर तीन दशमलव ८९ प्रतिशतका दरले ४४ हजार चार मेट्रिक टन उत्पादन भएको छ ।
