sevenstartv.com १७ साउन २०८३, आइतवार

कांग्रेस तेस्रो धारको कसरत कायम : राष्ट्रिय एकता भेलाको घोषणा

१७ साउन २०८३, आइतवार स्टार संवाददाता

काठमाडौं । विभाजनको संघारमा पुगेको नेपाली कांग्रेसलाई एकताबद्व बनाउने योजना अनुरुप तेस्रो धारका केही नेताले भरपुर कसरत गरिरहेका छन् । आन्तरिक मतभेद अन्त्य गरी पार्टीलाई बलियो बनाउने उद्देश्यका साथ ‘देश र कांग्रेस जोड्ने अभियान’ को घोषणा सहित कांग्रेसका केही नेताहरुले भरपुर गृहकार्य गरिरहेका छन् ।

सो अभियानले पत्रकार सम्मेलन गर्दै साउन २० गते काठमाडौंमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गर्ने निर्णय समेत सार्वजनिक गरि सकेको छ । पार्टीभित्र बढ्दो अविश्वास, आन्तरिक किचलो र विभिन्न विषयमा देदिएको मतभेदका कारण संगठन धारासायी बन्दै गएकाले सो अभियानले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्जीवित गर्ने लक्ष्य राखेको नैनसिंह महरले जानकारी गराएका छन् ।

अभियानद्वारा जारी वक्तव्यमा देश हाल गम्भीर चुनौतीबाट गुज्रिरहेको अवस्थामा पार्टी एक ठिक्का भएर देश र जनताको हितका लागि अघि बढ्नु पर्र्नेमा जोड दिईएको छ । सुनसरीबाट सुरू भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिएको, आर्थिक मन्दी, बेरोजगारी, युवा पलायन र सुशासनको संकटले जनजीवन कष्टकर बनेको तर्फ अभियानले ध्यानाकर्षण गराएको छ ।

सरकार जनगुनासो सम्बोधन गर्न प्रभावकारी नभएको अवस्थामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिनु लोकतन्त्रका लागि समेत चिन्ताको विषय भएको वक्तव्यमा उल्लेख गरिएको छ । कांग्रेस विभाजित हुँदा प्रतिगामी शक्तिहरू हाबी हुने र लोकतन्त्र कमजोर हुने ऐतिहासिक तथ्यलाई आत्मसात् गर्दै सो समुहले उक्त अभियानको सुरुवात गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना गरिने राष्ट्रिय एकता भेलामा देशभरका ७५३ पालिका, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र र १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका साथै विभिन्न तह, वर्ग र समुदायका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गरिने आयोजकले दाबी गरेको छ । भेलाले पार्टी एकतालाई संस्थागत बनाउने, जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने र कार्ययोजना सार्वजनिक गर्ने नेताहरूले बताएका छन् । यो अभियान कुनै व्यक्ति, गुट वा पदका लागि नभई ‘एकताबद्ध कांग्रेस, सुदृढ लोकतन्त्र र समृद्ध नेपाल’ को साझा संकल्प भएको नेताहरूको दाबी छ। 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्