अन्तत राप्रपाबाट अलगिए धवलशमशेर घोषणा गरे नयाँ अभियान
काठमाडौं । राप्रपा भित्र देखिएको असन्तुष्टि अन्तत फुटको सँघारमा पुगेको छ । राप्रपाका नेता धवलशमशेर राणा र राप्रपा पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन विच देखिएको मतभेदका कारण राणाले नयाँ अभियानको घोषणा गरेका छन् ।
आइतबार दिउँसो राप्रपाका असन्तुष्ट नेताहरू काठमाडौंको एक होटलमा छलफलमा जुटे सँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राणा पार्टीबाट अलगिने पक्का भएको हो । राणाले केही वर्षदेखि कार्यशैलीगत प्रश्न उठाउँदै आएका थिए। आफूले उठाएका प्रश्न अध्यक्ष लिङ्देनले बेवास्ता गरेको आरोप लगाउँदै आएकी उनी अन्तत अलग भएर अघि बढ्ने भएका छन् ।
आज भएको छलफलपछि राणाले आफूहरूले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।राणाले नयाँ अभियानमा सहभागी हुन आह्वान गर्दै भनेका छन, ‘देशलाई माया गर्ने, देशको समृद्धी चाहने आम राष्ट्रवादी मित्रहरु लगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन आह्वान गर्दछु । राप्रपालाई जनभावनाअनुकूल अघि बढाउने प्रयास भए पनि त्यो सफल नभएको उनको स्वीकारोक्ति छ ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विगत चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास गरेको स्पष्ट पार्दै उनले भनेका छन, विरोधाभाष र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँड्ने हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भयो । राप्रपामा आवद्ध साथीहरूलाई यही बाटो सही लाग्छ, त्यतै रहन शुभकामना छ, कुनै वैरभाव छैन । होइन, स्वच्छ मन र आत्मीय सम्बन्ध निर्माण गरेर, हाम्रा मान्यताहरुलाई सही लक्ष्य दिने चाहना हो भने, एकजुट भएर अघि बढ्न सबै राष्ट्रवादी मित्रहरुलाई हार्दिक आह्वान गर्दछु ।’
राणा राप्रपाबाट बाहिरिएसँगै उनीनिकट धेरै नेताकार्यकर्ता पनि बाहिरिने सम्भावना बढेको छ। त्यसैले राप्रपा विभाजनको संघारमा उभिएको स्पष्ट छ। उनले पछिल्लो समय अध्यक्षलाई एक साताको समय दिएर महाधिवेशन मिति तोक्न भनेका थिए । तर अध्यक्ष लिङ्देनले कार्यसम्पादन समिति बैठक राखेर महामन्त्री राणासहितलाई महाधिवेशन मिति प्रस्ताव गर्ने जिम्मेवारी दिएका थिए ।
तर महाधिवेशन मिति प्रस्ताव गर्ने जिम्मेवारीतर्फ महामन्त्री राणा लागेनन्, नयाँ अभियानमार्फत् बेग्लै पार्टी खोल्न अभियान तिर भने अग्रसर भएको पाइयो । राणाले राप्रपाका करिब ६० केन्द्रीय सदस्यहरुलाई आफ्नो साथमा लिएर अरू शक्ति तथा अभियानहरू संगठित गर्दै नयाँ पार्टी बनाउने तयारीमा जुटेको राणा निकट एक नेता बताउँछन् ।
