आइतबारदेखि दुई साताका लागि चित्लाङ–थानकोट सडक बन्द हुने
हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको चित्लाङ–थानकोट सडकमार्गमा आइतबारदेखि सवारी साधन आवागमन बन्द हुने भएको छ । निर्माण कम्पनीबाट सडक ढलान, कालोपत्र, टेवा पर्खाल निर्माणलगायतका निर्माण कार्यहरु तिव्र रुपमा अगाडी बढाउनका लागि सवारी साधनको आवागमन बन्द गर्न लागिएको हो ।
सडक डिभिजन काठमाडौंका अनुसार चित्लाङ–थानकोट मार्ग (गणेशमान मार्ग) निर्माण सुधारका क्रममा जेठ १७ गतेदेखि ३० गतेसम्म अर्थात् १४ दिनसम्म सवारी साधनको आवागमन बन्द हुने छ । टेवा पर्खाल निर्माण, कालोपत्रे र ढलान हुने भागमध्ये मकवानपुरतर्फ करिब १९ सय मिटर र बाँकी काठमाडौंतर्फको खण्डमा काम हुने भएको हो ।
निर्माण कम्पनीमार्फत तीन–चार स्थानमा टेवा पर्खाल निर्माण र १२ सय मिटर ढलान गरिने योजना रहेको जानकारी गराइएको छ । थानकोट–चित्लाङ सडक निर्माण सुधार कार्य सञ्चालन भइरहेको र उक्त सडक खण्डको भौगोलिक अवस्थाका कारण निर्माणस्थल हुँदै सवारीसाधनहरु आवतजावत गर्दा निर्माण कार्यमा अवरोध पुग्ने तथा दुर्घटनाको जोखिम अत्यन्त बढ्ने भएकोले सवारी आवागमन बन्द गरेर काम गर्न लागेको सडक डिभिजन काठमाडौंले जानकारी गराएको छ ।
कालोपत्र र ढलान गरी करिब साढे सात किमि सडक खण्डमा काम हुने जनाइएको छ । सडक स्तरोन्नतिका क्रममा काठमाडौंको पानीघट्टदेखि मकवानपुरको चित्लाङ बजारसम्मको सडक खण्ड पूर्ण रुपमा सडक बन्द हुने भएको छ । उक्त अवधिमा सवारी आवागमनका लागि वैकल्पिक बाटो प्रयोग गर्ने गरी आवश्यक सहजीकरण गरिदिन थाहा नगरपालिका र चन्द्रागिरी नगरपालिकालाई सडक डिभिजन कार्यालय काठमाडौंले आग्रह गरेको छ ।
शनिबारदेखि हेटौंडा–कुलेखानी–फाखेल–फर्पिङ सडकमा पनि सवारी साधन आउजाउ गर्न रोक लगाइएको छ । कुलेखानी–फाखेल सडक खण्डको महालक्ष्मी खोलामा निर्माणाधीन पुल र पुलको पहुँच मार्गमा ढलान गर्नुपर्ने भएकाले एक महिनाका लागि उक्त सडकमा सवारी साधन आउजाउ गर्न रोक लगाएको हो ।
हेटौंडाबाट काठमाडौं आउजाउ गर्ने छोटो दुरीको वैकल्पिक मार्ग कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खुला रहेको छ । छोटो दुरी भएर आउजाउ गर्ने सवारी साधनहरु कुलेखानी–सिस्नेरी–दक्षिणकाली प्रयोग गर्नु पर्ने हुन्छ ।
