कांग्रेसबाट स्थानीय तहको उम्मेदवार बन्न लिडरसीप एकेडेमी कोर्ष अनिवार्य : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले इलेक्सन ब्युरो बनाएर आगामी स्थानीय तहको निर्वाचनलाई व्यवस्थित बनाउन लागिएको बताएका छन् । सभापति थापाले सो ब्युरोको नेतृत्व उपसभापति पुष्पा भुसालले गरिरहेको जानकारी गराएका हुन्।
शनिबार नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै सभापति थापाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न चाहाने कांग्रेसका सदस्यले लिडरसीप एकेडेमीमा भर्ना भएर अनिवार्य रुपमा कोर्ष पूरा गर्नु पर्नेमा जोड दिएका छन् ।
उनले लिडरसीप एकेडेमीको कोर्ष पूरा नगरेका नेतालाई कांग्रेसले उम्मेदवारको रुपमा उभिन नपाउने बताएका छन् । लिडरसीप एकेडेमी को अलग युनिट बनाई रहेको बताउँदै उनले भने, ७५३ पालिकामा निर्वाचन लड्न चाहना भएको कोही पनि हुनुहुन्छ म उम्मेदवार बन्न चाहन्छु भनेर, कोही दोहोरिन चाहनुभएको छ, नयाँ उम्मेदवार बन्न चाहनुभएको छ । अनिवार्य रूपमा लिडरसीप एकेडेमीमा भर्ना हुनैपर्छ । र, एउटा कोर्ष पूरा गर्नैपर्छ । त्यसका लागि तयार हुनुस् ।
उनले सो कोर्ष पूरा गरिसकेपछि मात्रै उम्मेदवारका लागि योग्य हुने समेत स्पष्ट पारेका छन् । आफ्नो स्थानिय तहमा महिला उमेदवार बनाउने योजना भए अहिलेदेखि नै बढी भन्दा बढी महिला कोर्षमा भर्ना गराउनुपर्ने उनको भनाई छ । सभापति थापाले यसपटक ७५३ पालिकामध्ये कम्तीमा पनि १०० वटा पालिकामा मेयर वा अध्यक्ष महिलालाई उम्मेदवार रुपमा मैदानमा पठाउने पार्टीको तयारी रहेको समेत जनाएका छन्।
सो कार्यका लागि सबै लागि परे सफल हुने औंल्याउँदै सभापति थापाले भने, यस कार्यका लागि सबै लाग्नुपर्ने लाग्नु पर्ने हुन्छ । मैले यहाँ बोलिदिए भैहाल्छ भन्ने हुन्न । अहिलेदेखि सबै लागौं । मेहनत गरौ । अवश्य सफल भइन्छ । समुदायका हिसाबले उम्मेदवार तयार गर्ने कांग्रेसको योजना रहेको बताउँदै उनले यसपटक पूर्व तयारीका साथ निर्वाचनमा जाने जानकारी गराएका छन्।
सभापति थापाले पार्टीका भ्रातृ संगठनहरूलाई आन्तरिक विवाद र नेतृत्वको गन्थन छोडेर जनताको बीचमा जान निर्देशन दिए। थारु संघ, विद्यार्थी संगठन, महिला र दलित संघ जस्ता संस्थाहरूले आ–आफ्नो समुदायको हकहितका लागि गाउँ–गाउँ पुगेर नागरिकको भरोसा जित्नुपर्नेमा जोड दिए।
