sevenstartv.com १६ जेठ २०८३, शनिवार

कांग्रेसले गठन गर्‍यो ७ विषयगत उपसमिति

१४ जेठ २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीति निर्माण र अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्य अनुरुप सात वटा विषयगत उपसमितिहरू गठन गरेको छ ।

बिहीबार राति सम्पन्न प्रतिष्ठानको बैठकले अर्थतन्त्र, जलवायु परिवर्तन, युवा मुद्दा, बाल अधिकार र श्रमिकका समस्या जस्ता मुख्य एजेण्डामा केन्द्रित रहेर उपसमितिहरूको तय गरेको हो । प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा भएको उक्त बैठकमा पार्टी सभापति गगन थापाको समेत सहभागिता रहेको थियो ।

सो बैठकबाट विभिन्न विधाका विज्ञ र प्रभावशाली नेताहरूलाई उपसमितिको संयोजकको जिम्मेवारी तोकिएको छ । पार्टीको नीति, दृष्टि र योजना उपसमितिको जिम्मेवारी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा.गोविन्दराज पोखरेललाई तोकिएको छ ।

सो उपसमितिले निजी क्षेत्र, सेयर बजार, बिमा, सहकारी र समग्र वित्तीय क्षेत्रको अध्ययन गर्ने सिमा क्षेत्र निर्धारण गरिएको छ । जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजक रोशनी गिरी, अनौपचारिक क्षेत्रका श्रमिक उपसमितिको संयोजक महेन्द्र यादव, बाल अधिकार उपसमितिको संयोजक उमंग लोहनी, सार्वजनिक सेवा प्रवाह समिति संयोजक गोपालप्रसाद पोखरेललाई तोकिएको छ ।

चलचित्र निर्देशक मीनबहादुर भामलाई ‘नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय उपसमिति’ को संयोजकको जिम्मेवारी दिइएको छ । भामले जेनजीदेखि नागरिक समाजको प्रबुद्ध तहसम्म संवाद र समन्वय गरेर कार्य योजना बनाउँदै नेतृत्व गर्ने जनाइएको छ ।

गैर सरकारी संस्था नीति संवाद र समन्वय उपसमितिको संयोजकमा अञ्जु झालाई जिम्मेवारी दिइएको छ । उक्त बैठकमा प्रतिष्ठानका उपप्रमुख मधु आचार्यले आन्तरिक आचारसंहिता सम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

यसअघि चयन भएका ६ जना संयोजकहरूले आफ्नो अवधारणा प्रस्तुत गर्दै सो बैठकले नवनियुक्त संयोजकहरूलाई आगामी चौथो बैठक मार्फत आफ्नो प्रारम्भिक अवधारणा र कार्ययोजना पेस गर्न समेत निर्देशन दिइएको छ ।

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्