sevenstartv.com ११ जेठ २०८३, सोमवार

नेपाल-चीन सुरक्षा समन्वय बैठक लोमान्थाङमा सम्पन्न

९ जेठ २०८३, शनिवार स्टार संवाददाता

मुस्ताङ । नेपाल-चीन सीमा सुरक्षा समन्वयात्मक चीनको तिब्बतस्थित झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरो र नेपालका तर्फबाट मुस्ताङका स्थानीय सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरुबीच उपल्लो मुस्ताङको लोमान्थाङमा संयुक्त सीमा सुरक्षासम्बन्धी समन्वयात्मक बैठक सम्पन्न भएको छ । सिमा सुरक्षाका विषयमा केन्द्रित रहेर शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा सो बैठक सम्पन्न भएको हो ।

उक्त बैठकमा झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरोका आठ जना चिनियाँ प्रतिनिधिमण्डलको सहभागी रहेको जनाइएको छ । चिनियाँ प्रतिनिधिमण्डलमा झोङ्बा काउन्टीका जनसरकारका उपकाउन्टी प्रमुख डुन्जु युजिए, सुरक्षा ब्युरोका निर्देशक लोयिङ, काउन्टीका सुरक्षा ब्युरोका वैदेशिक सम्पर्क अधिकृत सिरेन झाशी र झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरोका पाँच जना कर्मचारीहरुको समेत सहभागिता रहेको उल्लेख गरिएको छ ।

त्यस्तै नेपालतर्फबाट मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामा, सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीलगायतको सहभागिता रहेको जनाइएको छ । नेपाल–चीन संयुक्त सीमा सुरक्षा समन्वयात्मक बैठकमा लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट र लोमान्थाङ गाउँपालिका उपाध्यक्ष छ्युमी विष्टलगायतको सहभागिताका बिच बैठक सम्पन्न भएको बताइएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले लोमान्थाङमा आयोजित नेपाल–चीन संयुक्त सीमा सुरक्षा बैठक द्विपक्षीय आपसीहितका विषयमा केन्द्रित रहेर छलफल भएको जानकारी गराएकी छिन् । प्रजिअ शर्माले कोरलानाका क्षेत्रको सीमा सुरक्षा, कोरला नाकाको सीमा सुरक्षा आवागमनमा कसरी सहज बनाउने र सीमाक्षेत्रमा हुनसक्ने सम्भावित अपराध, चोरी तस्करी र अवान्छित गतिविधिहरुको नियन्त्रणमा कसरी भूमिका खेल्नेलगायतका विषयमा मौखिक छलफल भएको बताएकी छिन् ।

प्रजिअ शर्माले आगामी दिनमा दुई देशबीचको स्थानीय जनसरकार र प्रशासनबीचको सम्वन्धलाई अझ प्रभावकारी र परिस्कृत तुल्याउँदै लैजाने विषयमा समेत बृहत रुपमा छलफल भएको जनाएकी छिन् । लोमान्थाङमा आयोजित (नेपाल–चीन) संयुक्त सुरक्षा समन्यात्मक बैठकको सहजीकरण लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले गरेका थिए । गाउँपालिका अध्यक्ष बिष्टले नेपाल–चीन कोरलास्थित सीमावर्ती दुईदेशबीचको स्थानीय जनसरकार र प्रशासनबीचको सुमधुर सम्बन्धलाई सुधार गर्दै थप परिस्कृत बनाउँदै लैजाने मौखिक सहमति भएको  जानकारी गराएका छन् ।

सीमा क्षेत्रमा देखिएका समस्या र चुनौतीहलाई दुई देशका स्थानीय सुरक्षा अधिकारी र जनप्रतिनिधिहरु मिलेर आपसी समन्वय र सहकार्य गर्दै जाने प्रतिबद्धता उल्लेख गरिएको छ । नेपाल–चीन उत्तरी कोरलास्थित नेपाल–चीनका सुरक्षा अधिकारी र स्थानीय जनतिनिधिहरुबीच बर्सेनि आलोपालो समन्वयात्मक बैठक बस्ने प्रचलन रही आएको  छ । चालु वर्षको भदौ महिनामा चीनको स्वशासित क्षेत्र तिब्बतको झोङ्बा काउन्टीमा नेपाल–चीन संयुक्त सुरक्षा समन्वयात्मक बैठक सम्पन्न भएको थियो । बैठकका लागि चिनियाँ टोली कोरलानाका हुँदै मुस्ताङको लोमान्थाङ सम्म आएका थिए । यसैगरी मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्मालगायत सुरक्षा प्रमुखको टोली बिहीबारनै बैठकका लागि लोमान्थाङ पुगेका थिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्