मकवानपुर राजस्व कार्यालयद्वारा ६ अर्ब राजस्व सङ्कलन
हेटौँडा । आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२–०८३ को १० महिना भित्रमा करिब छ अर्ब राजस्व सङ्कलन गरेको तथ्य सार्वजनिक गरेको छ ।
कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष २०८१–८२ को तुलनामा ३४ करोड २१ लाख २४ हजार बढी अर्थात् पाँच अर्ब ९२ करोड ६४ लाख राजस्व सङ्कलन भएको जानकारी गराएका छन् ।
चालु आर्थिक वर्षको वैशाखसम्ममा अन्तशुल्कतर्फ तीन अर्ब ४५ करोड ६२ लाख ६५ हजार, आयकरतर्फ एक अर्ब दुई करोड चार लाख ९६ हजार, मूल्यअभिवृद्धि करतर्फ ८२ करोड ७१ लाख ५२ हजार, स्वास्थ्य जोखिम करतर्फ ५१ करोड ९२ लाख ५९ हजार, ब्याजकरतर्फ ६ करोड ८३ लाख ७७ हजार र बहालकरतर्फ एक करोड ५९ लाख ८८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उनको भनाई छ ।
प्रमुख सुवेदीले चालु आर्थिक वर्षमा आठ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेको समेत बताएका छन् । प्रमुख सुवेदीले करदाताहरुको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेदा गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायतका अभियानलाई तिव्रता दिई करिब १० करोडभन्दा बढी पुरानो बक्यौता असुली गरिएको बताएका छन् ।
