sevenstartv.com १७ वैशाख २०८३, बिहिवार

कर्मचारीमार्फत प्रधानमन्त्री कार्यालय पठाए त्रिविका पदाधिकारीले राजीनामा

१७ वैशाख २०८३, बिहिवार स्टार संवाददाता

 काठमाडौं । त्रिविका पदाधिकारीहरूले कर्मचारीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा पठाएका छन् । कुलपति एवं प्रधानमन्त्रीको निजि सचिव प्रदिप परियारको ह्वाट्सएपमा पनि राजीनामा पठाइएको जनाइएको छ । त्रिविका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् ।

शिक्षाध्यक्ष प्राडा खड्ग केसीका अनुसार राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा पठाइएको छ । बालेन सरकारलाई काम गर्न सहज होस् भन्ने हेतुले मार्गप्रशस्त गरिएको उनीहरूको भनाई छ । शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला नियुक्त व्यक्ति हुन् ।

तत्कालीन उपकुलपति प्राडा केशरजंग बरालको सिफारिसमा रिजाल र केसीलाई २०८० चैत ३० मा तत्कालीन प्रधानमन्त्री  प्रचण्डले नियुक्त गरेका थिए । त्रिवि पदाधिकारीको कार्यकाल ४ वर्षको हुन्छ । उपकुलपति अर्याल केपी ओली प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए ।

प्राडा केशरजंग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि अर्याल गत २०८२ असार २५ मा उपकुलपति बनेका थिए । तर दुई तिहाइ नजिकको मत ल्याएको रास्वपाले राजनीतिक नियुक्ति लिएकालाई मार्गप्रशस्त निर्देशन दिएसँगै उनीहरुले पनि मार्ग प्रसस्त गरेका हुन् ।

सरकारले अध्यादेश नै ल्याउन लागेपछि राजीनामा दिने निर्णयमा त्रिवि पदाधिकारी पुगेका जानकारी गराएका छन् । १४ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेललाई अध्यादेश सिफारिस गरेको हो । हाल अध्यादेश राष्ट्रपतिले अध्ययन गरिरहेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्