आन्तरिक परामर्शमा पूर्णबहादुर खड्का
काठमाडौं । सर्वोच्च अदालतले पार्टीको आधिकारिता सम्बन्धी दायर रिट खारेज गरेपछि नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का आन्तरिक परामर्शमा जुटेका छन् । उनी निकटस्थ नेताहरूसँग आन्तरिक परामर्श गर्दै आगामी रणनीति तय तथा आगामी मार्गचित्र तय गर्नका लागि उनी लागि परेका हुन् ।
काठमाडौं गोल्फुटारस्थित निवासमा नेता खड्का शनिबार बिहानैदेखि आन्तरिक छलफलमा रहेका उनीनिकट नेताहरूले जानकारी गराएका छन् । खड्का निवासमै रहेका एक स्रोतले छलफलका लागि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पनि पुगेका छन् ।
नेता खड्काको निवासमा निवर्तमान केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, गुरुराज बराल, नैनसिंह महर, कुन्दनराज काफ्ले, उर्मिला थपलियालगायत देउवा पक्षका नेताहरूको बाक्लो उपस्थिती रहेको छ । नेता खड्काले आफूनिकट नेताहरूसँग परामर्श गरेर अदालतको निर्णयपछि आफूले लिने आगामी मार्गबारे वक्तव्यमार्फत् औपचारिक जानकारी सार्वजनिक गर्ने तयारीमा जुटेको जनाइएको छ।
