sevenstartv.com १५ माघ २०८२, बिहिवार

निपाह भाइरसको उच्च जोखिममा नेपाल, सावधानी अपनाउन विज्ञहरुको आग्रह

१५ माघ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । छिमेकी मुलुक भारतको पश्चिम बंगालमा निपाहको संक्रमण देखिएसँगै नेपालमा पनि यसको जोखिम उच्च भएको छ ।  नेपालमा निपाह भाइरसको संक्रमणबाट बच्न विज्ञले सतर्कता अपनाउन आग्रह गरेका छन् । पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग रहेको भन्दै चिकित्सकले यसबाट बच्न आग्रह गरेका छन् । छिमेकी देशमा यसको संक्रमण उच्च छ ।

विभिन्न मार्गबाट नेपालमा पनि आउन सक्ने सम्भावना छ । तर अहिलेसम्म यसको पुष्टि भइसकेको छैन ।  निपाहको संक्रमणले मष्तिष्क सुन्निने र मष्तिष्कमा असर भएका बिरामीको मृत्युसम्म हुने जोखिम रहेको छ । फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा निपाह भाइरस पाइन्छ । निपाह भाइरस जनावरबाट जनावरमा, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ । संक्रमित चमेरोबाट सुंगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ ।  

संक्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, संक्रमित व्यीक्तको रगत, दिशा, पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा निपाह भाइरस सर्ने जोखिम रहने चिकित्सक बताउँछन् । ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, स्वासप्रश्वासमा कठिनाइ हुने, टनसिलाइटिस जस्ता यसका लक्षणहरू हुन् ।  यसको रोकथाम गर्न फलफूल खाँदा पखालेर मात्र खान चिकित्सकले सुझाएका छन् । तरकारी सकेसम्म पकाएर खाने, गाईवस्तुको गोठ, फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर मात्र पिउने, बेलाबेलामा साबुनपानीले हात धुने, भीडभाडमा जाँदा मास्क लगाउने गनु पर्दछ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणलाई लिएर उच्च सावधानी अपनाएको जनाएको छ । विभिन्न स्थल मार्गसँगै हवाई मार्गमा पनि निगरानी बढाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थललगायत भारतको पश्चिम बंगालसँग जोडिएका स्थल नाका र अन्यमा पनि निगरानी बढाइएको छ ।  पश्चिम बंगालमा दुईजना स्वास्थ्यकर्मीमा निपाह भाइरसको संक्रमण पुष्टि भएको र उनीहरूको संसर्गमा रहेका १९६ जनालाई निगरानीमा राखिएको तर उनीहरूको परीक्षण रिपोर्ट नेगेटिभ आएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

सन् १९९८ मा मलेसिया र सिंगापुरस्थित सुँगुर फार्ममा काम गर्ने व्यक्तिहरूमा निपाह भाइरस पुष्टि भएको थियो । त्यस ताका १०० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै लाखौँ सुँगुर निपाह भाइरस संक्रमणकै कारण मरेका थिए । सुँगुर पालन गरेर जीविकोपार्जन गर्ने किसानले त्यसबखत ठूलो क्षति बेहोर्नु परेको थियो ।  बंगलादेशमा सन् २००१ यता निपाह भाइरस संक्रमणकै कारण सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । पश्चिम बंगालमा पनि सन् २००१ देखि २००७ को बीचमा निपाह भाइरसको संक्रमण पुष्टि भएको थियो । सन् २०१८ मा केरलामा १९ जनामा निपाह भाइरस संक्रमण पुष्टि भएको थियो । तीमध्ये दुईजनाको मृत्यु भएको थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्