विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान
पार्टी नेतृत्वलाई स्वामित्व लिन आग्रह, पार्टीलाई एकताबद्ध र थप सुदृढ बनाउन कोशेढुंगा सावित हुने दाबी
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गतेका लागि केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशनको सूचना तथा प्रचारपसार समितिका संयोजक सुवास पाखरेलले विधानको मर्म र भावनाअनुसार केन्द्रीय विशेष महाधिवेशन आयोजना गर्न लागिएको जानकारी दिए । उनले केन्द्रीय विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय र उत्साहपूर्ण रूपमा सहभागी हुन आग्रह गरे ।
उनले पार्टी केन्द्रले विशेष महाधिवेशनको स्वामित्त लिँदै आफ्नो दायित्व पूरा गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । वर्तमान संवेदनशील राजनीतिक परिस्थितिमा कांग्रेसलाई एकताबद्ध र थप सुदृढ बनाउन यो विशेष महाधिवेशन कोशेढुंगा सावित हुने उहाँको दाबी छ । उहाँले महाधिवेशनको तयारीका लागि १८ वटा विभिन्न समिति गठन गरिएको जानकारी पनि दिए ।
