९५ प्रतिशत मुटुरोगको उपचार नेपालमै सम्भव
काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले नेपालमा मुटुरोगका करिब ९५ प्रतिशत उपचार स्वदेशमै सम्भव भइसकेको बताएका छन् ।
बुधबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले मुटुरोग सम्बन्धी बाँकी पाँच प्रतिशत उपचार, विशेषगरी मुटुको प्रत्यारोपण (हार्ट ट्रान्सप्लान्ट) र कृत्रिम मुटु जडान सेवा अझै सुरु हुन नसकेको उल्लेख गरेका हुन् ।
उनकाकाअनुसार हार्ट ट्रान्सप्लान्ट र आर्टिफिसियल हार्ट जडानका लागि आवश्यक कानुनी प्रक्रिया अधिकांश पूरा भइसकेको छ । तर स्वास्थ्य मन्त्रालयबाट अस्पताललाई दिनुपर्ने लाइसेन्स नआएकाले सेवा शुरु हुन नसकेको उनको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अस्पतालले अनुमति पत्र नपाएकै कारण मुटु प्रत्यारोपण गर्न मिल्न नसकेको उल्लेख गर्दै उनले लाइसेन्स प्राप्तभए लगत्तै सेन्टरबाट सेवा सुरु गर्न सकिने बताए ।
