नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग मन्त्री पौडेलको आग्रह
मातृ तथा सुत्केरी मृत्युमा महत्वपूर्ण प्रगति हासिल गरेको जिकिर
काठमानडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य सेवा सबल बनाउनका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित जनसंख्या तथा विकास आयोगको ५८औँ शत्रमा सम्बोधन गर्नै मन्त्री पौडेलले सहायताका लागि आह्वान गरेका हुन् । सत्रलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले पछिल्ला तीन दशकमा मातृ तथा सुत्केरीसँग सम्बन्धित मृत्युमा महत्वपूर्ण प्रगति हासिल गरेको अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिए । परिवार नियोजनका साधनको प्रयोगमा वृद्धि, प्रजनन क्षमता र किशोरावस्थाको जन्मदरमा कमी तथा बालविवाह घटाउन नेपाल सफल
भएको उनले बताए । अन्तर्राष्ट्रिय सहकार्य र ऐक्यबद्धताबाट मात्र यी कार्य सम्भव भएको उनको भनाइ छ । स्वास्थ्य क्षेत्रमा सीमित बजेट रहेको र नेपालको प्रतिव्यक्ति स्वास्थ्य खर्च विश्वव्यापी दरका तुलनामा कम भएको मन्त्री पौडेले सुनाए ।
ग्रामीण क्षेत्रमा पर्याप्त पूर्वाधार विकास तथा स्वास्थ्य संस्थाको कमी हुँदा नेपालीले स्वास्थ्य पहुँचमा कठिनाइ भोग्नुपरेको उनको भनाइ छ । न्यूयोर्कमा रहेका बेला मन्त्री पौडेलले त्यहाँ रहेका नेपाली समुदायसँग स्वास्थ्य सेवा सुधारका लागि सुझाव संकलन गर्ने कार्यक्रम रहेको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रमुख राजदुत लोकबहादुर थापाले जानकारी दिएका छन् ।

.gif)