sevenstartv.com ९ माघ २०८२, शुक्रवार

निर्वाचनबाट कलाकारको के छ आशा, प्रधानमन्त्रीको कुर्सीलाई ‘म्युजिकल चियर’ बनाएको भन्दै असन्तुष्ट

९ माघ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । देश चुनावमा होमिदा कलाकारहरुको पनि त्यसतर्फ चासो देखिएको छ । नेकपा एमाले अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्रीको कुर्सीलाई ‘म्युजिकल चियर’ बनाएको भन्दै असन्तुष्ट कलाकारहरु यस चुनावप्रति अझ बढी उत्सुक भएका छन् । 

पार्टीको आन्तरिक विद्रोहले कांग्रेसबाट देउवाले उम्मेद्वार बन्न पाएनन् । ओलीलाई संसद छिर्नबाट रोक्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बालेन्द्र शाहले उनको क्षेत्र झापा ५ बाट उम्मेद्वारी दिएका छन् । यो घटनाले राजनीतिक माहोल तातेको छ । बालेन्द्रको उम्मेद्वारीलाई कलाकारहरुले नजिकबाट हेरिरहेका छन् । केही कलाकारहरु खुलेरै उनको पक्षमा लागेका छन् । कलाकार अर्जुन घिमिरे ‘पाँडे’ बालेनको कोर टिममा बसेर चुनावमा होमिएका छन् । उनी सार्वजनिक स्थानमा बालेनको निजी अंग रक्षकको भूमिकामा रहेको जस्तै देखिन्छन् । 

बालेन्द्रलाई जोगाउन उनी भीड व्यवस्थापनमा पनि खटेको देखिएको छ । निर्देशक तथा नायक निश्चल बस्नेत पर्दापछाडिबाट राजनीतिमा सहभागी छन् । भोट नमागे पनि उनी कुन पार्टी र को नेता नजिक छन्, स्पष्ट छ । बस्नेत बालेनको टिम निकट रहेर राजनीतिमा संलग्न रहेको बुझिन्छ । तर उनी, पार्टीमै सक्रिय भएर लागेका भने छैनन् । केही कलाकारहरु पार्टी प्रवेश गरेर चुनावमा नै लागेको छन् । निशा अधिकारीले गतिशील लोकतान्त्रिक पार्टीको काठमाडौं ५ बाट उम्मेद्वारी दिएकी छन् । रास्वपाबाट गायक प्रकाश सपुत र नायिका रिमा विश्वकर्मा समानुपातिक उम्मेद्वार बनेका छन् । उम्मेदवारी दर्ताको सरगर्मी बढ्दै गर्दा प्रकाश कन्सर्टमा व्यस्त छन् । 

गायिका कोमल वलीलाई एमालेले समानुपातिक उम्मेद्वार बनाएको छ । उनी उम्मेदवारी दर्ताका दिन माघ ६ गते दाङका नेता कार्यकर्ता माझ सार्वजनिक भएकी थिइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा नायिका रेखा थापा यो पटक उम्मेद्वार नबन्ने टुंगोमा पुगिन । अहिले उनको ध्यान पार्टीहरुले कम संख्यामा महिला उम्मेद्वार उठाएको विषयमा छ । गत निर्वाचनमा रेखा मोरङ २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद्वार बनेकी थिइन् । उनी कांग्रेसका सुनील शर्माबाट भारीमतले पराजीत भएकी थिइन् । प्रधानमन्त्रीको कुर्सीलाई ‘म्युजिकल चियर’ बनाउने पाका नेताहरुलाई चुनावबाट निषेध गर्ने विकसित माहोलप्रति गायिका झुमा लिम्बू सकारात्मक नै छिन् ।

उनी आफू न्युट्रल रहेको दाबी गर्दै युवाले देशको नेतृत्व गर्नुपर्ने पक्षमा रहे पनि देशको नेतृत्वका लागि अघि सर्ने युवा राजनीतिक अभ्यासले पोख्त हुनुपर्ने आवश्यकता औल्याउँछिन् । नायिका ऋचा शर्मा बालेनको पक्षमा खुलेकी छन् । झापा ५ माहोल केन्द्रित रहेर उनी सामाजिक सञ्जालमा सक्रिय छन् । नायिका स्वस्तिमा खड्का पनि बालेनको पक्षमा खुलेकी छन् । उनले बालेनको लागि नै भोट भने मागेकी छैनन् । तर बालेनले उम्मेद्वारी दर्ता गर्दा देखिएको भिडको तस्बिर सेयर गरेकी छन् । प्रियंकाले लेखेकी पनि बालेन शाहले जित्नु पछै भन्दै क्रेज र लोकप्रियता कारण मात्रै होइन,े देशलाई परिवर्तन गर्न सम्भव छ भन्ने विश्वास भएको बताएकी छन् । नायिका वर्षा राउत पनि रास्वपाको पक्षमै खुलेकी छन् । चुनाव आउन एक डेढ महिना बाँकी रहेकाले अझै केही कलाकारहरु दलको पक्षमा खुल्ने सम्भावना रहेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्