sevenstartv.com १ चैत २०८२, आइतवार

उपत्यकामा एलपी ग्यास अभाव देखिएको विषयमा निगम र वाणिज्य विभागबीच विरोधाभासपूर्ण दाबी

अनुगमनमा माग र आपूर्तिबीच ठूलो असन्तुलन

२७ माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यास अभाव चुलिएपछि दुई सरकारी निकायबीच नै विरोधाभासपूर्ण दाबी बाझिएका छन् । नेपाल आयल निगमले बजारमा ग्यास आपूर्ति पर्याप्त रहेको दाबी गरिरहँदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने अनुगमन क्रममा माग र आपूर्तिबीच ठूलो असन्तुलन भेटिएको बताएको छ ।

ग्यास अभाव भएको जनगुनासो बढेपछि विभागले सोमबारदेखि बजार अनुगमन तीव्र पारेको छ । आयल निगमले मागभन्दा बढी ग्यास आपूर्ति भइरहेको र बजारमा सहज भइसकेको दाबी गरिरहँदा विभागको अनुगमन टोलीले भने ग्यास अभाव देखिएको बताएको छ । ग्यास नपाएको विषयमा प्रधानमन्त्री कार्यालयको हेलो सरकारदेखि विभागसम्म सर्वसाधारणको गुनासोको ओइरो लागेको छ ।  

विशेषगरी विद्यार्थीले ग्यास नपाएर चुल्हो नबलेको भन्दै गुनासो गरिरहेका छन् । जाडो मौसम र निर्वाचन समयका कारण पनि ग्यास खपत बढेको तर आपूर्ति व्यवस्थापन फितलो हुँदा समस्या बल्झिएको विभागको विश्लेषण छ । विभागले आयल निगम, गुणस्तर तथा नापतौल विभागका प्रतिनिधिहरूसँगको समन्वयमा संयुक्त अनुगमन जारी राखेको छ । आपूर्तिमा देखिएको यो गम्भीर समस्या समाधान गर्न प्रशासनिक र कानुनी दुवै पक्षबाट दबाब बढाउनुपर्ने विभागको निष्कर्ष छ । अहिले दैनिक औसत १ सय १० बुलेट ग्यास नियमित आयात भइरहेको छ ।

काठमाडौंका २३ वटा ग्यास उद्योगले दैनिक करिब ४० हजार सिलिन्डर बजार पठाइरहेको निगमले दाबी गरेको छ । केही ठूला ग्यास उद्योगीले विगतमा गरेको कम आयात र उपभोक्तामा देखिएको डरका कारण बजारमा चाप बढेको जनाइको छ । बजारमा अभावको चर्चा चल्न थालेपछि उपभोक्ता र व्यवसायीहरूले आवश्यकताभन्दा बढी सञ्चय गर्न थालेकाले पनि समस्या जटिल बनेको बताइएको छ ।

वाणिज्य विभागको अनुगमनले ग्यास अभाव देखाएको विषयमा स्पष्ट पार्दै अनुगमनको समय र ग्यास वितरणको समय नमिल्दा यस्तो निष्कर्ष आएको हो । नेपाल र एभरेस्ट ग्यासजस्ता ठूला कम्पनीको लोडिङ पनि बढाइएको र उनीहरूले अहिले दैनिक ७ हजार ५ सय सिलिन्डर बजार पठाइरहेका छन् । निगमले उपभोक्ताका लागि सिधै उद्योग वा बिक्री केन्द्रमा सम्पर्क गर्ने व्यवस्था मिलाएको बताएको छ ।

नेपाल ग्यास, एभरेस्ट, साइबाबा र श्रीकृष्ण ग्यासमा सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरिएको छ ।आपूर्तिमा केही समस्या परेमा वा ग्यास नपाइए कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गरी उजुरी टिपाउन समेत निगमको आग्रह छ । निगमले एलपी ग्यास आयात र बिक्री वितरण नियमित भइरहेको दाबी गर्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न र आवश्यकता अनुसार मात्र खरिद गर्न अनुरोध गरेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्